Loading

बसूँ भन्दा कतै आवास छैन/ सनत कुमार वस्ती

बसूँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन

वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन

कतै बेहोशीमा छल्किन्छ प्याला
कसैको भागमा दुई गाँस छैन

जलायो ग्रीष्मले फ्याँक्यो हुरीले
मलाई बैंसको मधुमास छैन

दुष्कर्मले साम्राज्य मिल्छ
कुनै सत्कर्ममा स्याबास छैन

उदासीको गजल गाइरहेछु
कतै सङ्गीतमा उल्लास छैन

बरु यै जिन्दगी आतंक बन्छ
मलाई मृत्युको सन्त्रास छैन।

Segments: 
Author: 

Comments