Loading

बा / बुद्धिसागर

धमिलो क्षितिजको उकालो बाटो
चोर औँला समाएर
बालकजस्तै डोर्याउँदै लग्यो मृत्युले ।

दमको रोगी
कत्ति बढेन सास त्यसबेला,
दुखेनन् दुब्ला खुट्टाका गोलीगाँठाहरू
सजिलै पहिलियो बाटो
आँखालाई चाहिएन मोटो चश्मा
खालिखुट्टा बतास टेक्दै
पुग्नुभयो
मेरा बा
सुनैसुनको नगरमा ।

हाम्रै अगाडि डढ्यो
कपासजस्तो उज्यालो कपाल,
आगोमा
जल्यो आँखाको थोपा-थोपा पानी,
जले
गोडा र हातका ती पञ्जा,
जसले पहिलोपल्ट
उफारेका थिए
मलाई आकाशमा ।

यसरी जानु भो
बा
कुटिरो पारेर
आमाको सिन्दूर/ सुनको मडहरी
छोडेर मुटुमा
अत्यासको, पीडाको बलियो गाँठो ।

सुनको रथमा बाइपङ्खी घोडाले
दगुराउँदै पुर्यायो
देवनगरीका सडकहरूमा
र मेरा बा
हाँस्नुभयो थोते मुस्कान
त्यतिबेला,
जतिबेला बालुवामा गाड्यौँ हामीले
एकटुक्रा अस्तु ।

Segments: 
Author: 

Comments