Loading

अँजुलीभरि घाम/ धीरेन्द्र प्रेमर्षि

प्रकृति र परिवेशको उखरमाउलो गर्मी र उकुस-मुकुसले जन-मन आकुलव्याकुल छ यतिखेर । यो अत्यास र अँध्यारोमा आशाको उज्यालो र्छन शब्द-सङ्गीतशिल्पी हिरण्य भोजपुरे अँजुलीभरि घाम लिएर उदाएका छन् । बैसठ्ठी वर्षो प्रौढावस्थामा छब्बीस वर्षो जाँगरका साथ चार दशकअघिकै शैली र सोचका गीत-सङ्गीतहरू लिएर श्रोतामाझ आएका भोजपुरे गायनमा आफ्नो पुरानो संलग्नतालाई नवीकरण गर्न मात्र आएका होइनन् । पुनः उदाउने क्रममा उनले सङ्गीतका सुर-तालहरूमा आत्म-आनन्दका विविध पाटाहरू समेत कोट्याएका छन् ।

झिलिमिली पप सङ्गीतमा मस्त आजका युवा पुस्ताबीच भोजपुरेका गीत कति विशिष्ट वा पृथक् प्रमाणित हुने हुन्, हर्ेन बाँकी नै छ । तर, अहिले नै भन्न सकिन्छ- पृथकता उनको अभिन्न परिचय हो । तरुणवयमा भोजपुरे सम्मिलित साङ्गीतिक समूह 'लेकाली' गद्य कवितासमेत गाउने हुनाले यदाकदा 'गोरखापत्र गाउने' भनेर आलोचित हुन्थ्यो । त्यतिखेर नेपाली गीतहरूमा व्यापक भई नसकेको हार्मोनाइज शैली अपनाउँदा गीत बिगारेछन् भन्ने आरोप व्यहोरेकोे अनुभव पनि छ भोजपुरेसँग ।

यसप्रकार पृथक् धारमा हिँड्दा परम्परावादीहरूको आँखामा बिझने गरेपनि ट्याम्के डाँडा, बस-बस रे बसुन्धरा लगायतका उनका गीतहरू साङ्गीतिक स्पर्धाहरूमा अब्बल ठहरिए । २०२३-२४ सालतिर विश्वविद्यालयस्तरीय गायन प्रतियोगितामा गोपाल योञ्जन र योगेश वैद्य क्रमशः दोस्रो र तेस्रो हुँदा लहरा-पहरा-छहराको देश गाएर प्रथम भएको अनुभव आश्चर्यपूर्ण गौरवका साथ सुनाउँछन् भोजपुरे । उल्लिखित गीतहरूका साथै कुखुरी काँ, आज भेडा-बाख्र्रा, बाइरोडको बाटोमा जस्ता लोकप्रिय सिर्जनामार्फत नेपाली सङ्गीतमा उहिल्यै दह्रो उपस्थिति दर्ता गराइसकेका भोजपुरेसँग आफ्नो परिचयको नवीकरण गराइराख्नुपर्ने नेपाली संस्कारप्रति गुनासो पनि छ । तर त्यसो भन्दैमा उनी ठुस्किएर बसेनन्, बरु आफ्ना गीतहरू उही पुरानो निजीपनका साथ लिएर आए, नेपाली श्रोताका स्मृतिको दैलो घचेड्दै- 'म त फेरि आइपुगेँ नि' भनेर !

श्रोताको दिलको दैलो ढक्ढक्याउने माध्यमका रूपमा उनले जीवनकै पहिलो गीतिसङ्ग्रह र्सार्वजनिक गरेका छन्- एक अँजुली घाम । सङ्ग्रहमा रहेका जम्मा १२ मध्ये २०२७ देखि ६१ सालभित्र रचित आठ वटा गीत भोजपुरेको एकल आवाजमा नेपाली भाषामा छन् । उनले आफू नेवार भएर नेवारीलाई मातृभाषा बनाइराख्न नसकेको वेदनाको भारी एउटा नेवारी गीत गाएर बिसाएका छन् । त्यस्तै, अमेरिका बस्दा उनलाई अङ्ग्रेजीमा लेख्ने लहड चल्यो । शब्द अमेरिकाको भाषा अङ्ग्रेजी बनेर निस्के पनि गीतचाहिँ नेपालीभन्दा अर्थोक मरिगए हुन सकेन । त्यो अङ्ग्रेजी गीतले छोपेको भाव र भाका सर्वथा नेपाली नै रहृयो । श्रोतालाई फोसाको रूपमा उपलब्ध गराइएका यी दुइ गीतका अतिरिक्त 'लेकाली' सदस्यहरूको सामूहिक आवाजका दुइ चर्चित गीत ट्याम्के डाँडा र लहरा-पहरा पनि यसमा समेटिएका छन् ।

हर-हर महादेव पानी देऊ जस्ता गीत लेखे-गाएका कारण पञ्चायतकालमा 'कम्युनिष्ट' भएको आरोप र जागिर खुस्काइदिने खप्की पाएका भोजपुरे र उनका सहकर्मीहरूलाई २०४६ सालपछि कतिले 'मण्डले' पनि भने । र, एउटा संयोग भनौँ-पञ्चायतकालमा सिर्जनाको उत्कर्षमा रहेका भोजपुरे हाल त्यस्तै अवस्थामा पुनः विशेष ऊर्जाशील देखिएका छन् । 'यो संयोग मात्रै हो त ?' जवाफमा उनी प्रतिकूल परिस्थितिमा सिर्जना बढी धारिलो हुने हुँदा यस्तो देखिएको बताउँछन् । र, यस्तै मानवीय प्रवृत्तिले गर्दा नेपाली सङ्गीत र्सार्थकताका दृष्टिले २०१८-१९ देखि ४५-४६ सालसम्म स्वर्णिम युगमा रहेको उनको ठम्याइ छ ।

आफ्ना लागि रचना, सङ्गीत प्रायः आफैँ गर्ने भोजपुरेले अहिले आफ्नै आस्थाको मान्द्रोमा सुकाएका छन् अँजुलीभरि घाम । आमश्रोताका लागि यो कति पारिलो होला, समयले बताउने नै छ । तर हिरण्यको गायन र सङ्गीत-सिर्जनाको सुनौलोपन भने यो घाममा झन्-झन् टल्कँदै जाने पक्का छ।

[Source: Himal Khabar]

Segments: 

Comments