Loading

आख्यानीकृत इतिहास र डायमन / देवेन्द्रप्रसाद उप्रेती

उपन्यासकार डायमनशमशेर राणा नेपाली साहित्य क्षितिजमा नौलो नाम होइन । 'वसन्ती' (२००६), 'सेतो बाघ' (२०३०), 'प्रतिबद्ध' -२०३४), 'सत्प्रयास' (२०३८), 'अनिता' (२०४६), 'धनको धब्बा' (२०५१), 'गृह प्रवेश' (२०५९) आदि उपन्यासले उनलाई चर्चित व्यक्तित्व सावित गराइदिएका छन् । डायमनले राणाकालको अँध्यारो कालखण्डलाई औपन्यासीकरण गरी यथार्थ पक्षको प्रकटीकरण गरिदिएका छन् । यथार्थमा कल्पनारूपी जलपले उनका कृतिहरू सिँगारिएका छन् । उपन्यासका यी महान् हस्तीलाई समग्ररूपमा चिनाउने काम भएको छ- २०६५ मा प्रकाशित 'आख्यानकार डायमन' समीक्षात्मक ग्रन्थबाट । यस पुस्तकलाई 'डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान', ललितपुरले प्रकाशनमा ल्याएको छ ।

प्रस्तुत कृतिलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा प्राज्ञ कृष्णचन्द्रसिंह प्रधान, प्रा. कृष्ण गौतम, डा. तुलसी भट्टराई, नवराज लम्साल, जगदीश उप्रेती, शङ्कर भारती, ज्ञानेन्द्र विवश, श्रीओम श्रेष्ठ 'रोदन', डा. ध्रुवचन्द्र गौतम, शैलेन्द्रकुमार सिंह, उज्ज्वल जि.सि., राजेश खड्का आदि प्रतिभाबाट डायमनको जीवनी, व्यक्तित्व र कृतित्वका विविध पाटालाई आत्मसात् गरी विश्लेषणात्मक मूल्याङ्कन गरेका छन् भने खण्ड 'ख' मा प्रा. राजेन्द्र सुवेदी, प्रा.डा. गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश, हेमचन्द्र भण्डारी, रामप्रसाद ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली, कुमारप्रसाद कोइराला, हरिप्रसाद सिलवाल, धनराज भट्टराई, प्रा.डा. गङ्गा कर्माचार्य -हाडा), देवी नेपाल, नवराज खतिवडा, टीकाराम पोखरेल, छायादत्त न्यौपाने वगर, नयराज/दिनेशराज पन्त आदिका सैद्धान्तिक र कृतिपरक विश्लेषण अनि खण्ड 'ग' मा आर. एम. डङ्गोल र धनराज भट्टराईले प्रत्यक्ष डायमनसँग लिएको अन्तर्वार्ताले यस समीक्षात्मक ग्रन्थको ओज बढाएको छ ।

डायमनका एउटा, दुइटा कृति पढेर पाठकले उनलाई सीमित रूपमा बुझेका थिए । जब यो समीक्षात्मक ग्रन्थ हातमा पर्‍यो वा पर्नेछ, त्यसपछि बाल्यकालदेखि हालसम्मको जीवनवृत्त, व्यक्तित्व र कृतित्वको साङ्गोपाङ्ग यथार्थ बोध हुनेछ । राणाकालमै जन्मेर, राणा परिवारकै सन्तान भएर, बाबुबाजेदेखि ठूला पदमा रहेर पनि जनताले भोगेको पीडालाई मार्मिक रूपमा ग्रहण गरी त्यति नै बेला साहित्यमार्फत विद्रोही बन्नु कम चानचुने कुरा होइन । राणाकालमै राणाको विरोधी बनी सेनाको जागिरबाट हात धोई कालक्रमिक रूपमा आर्थिक सङ्कटले पिरोल्दै लगे पनि उनका कृतिले नै प्राण भर्ने काम गरेका छन् । यसले लेखक वर्गलाई प्रेरणा प्रदान गरेको छ भने पाठ पनि सिकाएको छ ।

उनी राजनीतिकर्मी, साहित्यकर्मी, लेखक, कलाकार, समाजसेवी, महिला, पुरुष सबैका लागि प्रेरणाका स्रोत बनेका छन् । उनका कृतिहरू जनचेतनाका मुहान बनेका छन् अनि निरङ्कुशता र व्यभिचारी रूपको तेस्रो आँखा सावित भएका छन् ।

'खाने मुखलाई जुँगाले छेक्दैन' भनेझैं कर्मशील व्यक्तिलाई बाधाव्यवधानले रोक्न सक्दैन भन्ने उक्ति डायमनमा लागू भएको छ । साहित्यिक कृतिमार्फत अन्याय, अत्याचारलाई प्रस्तुत गरेकै आधारमा कैयौँपटक जेलजीवन भोगेका राणाले जेलमै 'सेतो बाघ' जन्माएका थिए । जेलजीवन त झन् उनका लागि प्रेरक समय बनेको देखिन्छ किनभने डायमनको सबैभन्दा बढी बिक्ने कृति नै सेतो बाघ बनेको छ । उनका केही कृतिहरू धेरै विदेशी भाषामा पनि अनुवाद गरिएका छन् ।

हाल प्रकाशित २८६ पृष्ठको आख्यानकार डायमन शीर्षकको समीक्षात्मक ग्रन्थ एउटा सिङ्गो युगको इतिहास हो, इतिहास भएर पनि साहित्य हो । यो ग्रन्थ सङ्ग्रहणीय पनि भएकाले उनको विषयमा कलम चलाउने सबै विद्वत्गण पनि साधुवादका पात्र बनेका छन् ।

पुस्तक- आख्यानकार डायमन
सम्पादक- छायादत्त न्यौपाने 'वगर'/ऋषिराम पाण्डे
प्रकाशक- डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
संस्करण- २०६५ प्रथम
पृष्ठ- ८+२८६
मूल्य- रु. ५००।-

Comments