ऐंजेरु / डा. राजेन्द्र विमल

शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -".........पी-पी-पी-पी... छुक्छुक् छुक्छुक् ... ।"

कल्पिता मेरो मित्र प्रभु ढुङ्गेलकी छोरी छे, तर मलाई मेरै छोरीको अनुभूति दिएकी छे, त्यसले । मैले त्यसलाई जन्मिएकी, पलपल बढ्दै गएको देखेको छु । मेरो काँधमा बसी, बुइँ चढी त्यसले अनगिन्ती पटक मलाई घोडा बनाएकी छे- हट् घोडा हट् ! त्यसैले बाह्र वर्षको उमेरमा पनि ऊ मेरो बुई चढ्न सक्छे, मेरो खल्बाटमा तबला बजाउन सक्छे, मेरो घ्याम्पे भुँडीमा बक्सिङको अभ्यास गरिरहन सक्छे ।

मलाई मेरो करेसावारीलाई एउटा सानोतिनो फूलवारीको रूपमा सजाउने सोख छ । थरीथरीका फूलहरूका विरूवा मैले मेरै हातले रोपेको छु । आँप, अम्बा, लिचीका दुई दुईवटा रूखहरू पनि झ्याम्मिएका छन् । जानुभन्दा लगभग दुई महिना अगाडि जब त्यो आएकी थिई, म मल्लिका आँपको रूखको जरामा पहेँलो माटो हालिरहेको थिएँ । रूख चार हात जत्ति अग्लो होला । नर्सरीबाट किनेर ल्याएको थिएँ । यस सानो रूखमा पनि आँप लटररम्म भएर फल्छ । कल्पिता कुन्नि कताबाट छुक्छुक् ... छुक्छुक् गर्दै, कुद्दै आई र मेरा आँखा छोपिहाली । मैले त थाहा पाइसकेको थिएँ । तैपनि नचिनेको स्वाङ् गर्दैँ श्रीमतीको नाउँ लिएँ - 'वीणा ... त्यो खितितिती गरी हास्न थाली र पर भागेर चिढाउन थाली - "अङ्कल, हजुरले त छोरीलाई पनि चिनिसिन्न । ... आजदेखि मेरो नाउँ वीणा, आन्टीको नाउँ कल्पिता । ..." मैले पनि एकछिन रमाइलो गर्ने उद्देश्यले त्यसलाई लखेटेँ - "सैतान ! पर्ख, तालाई..." उसले रूखहरूको आड लिई मलाई फूलबारीमा सात फन्को घुमाई । वीणा यो सबै हेर्दै थिई । थाक्ली भनेर वीणाले पछाडिबाटै कल्पितालाई च्याप्प समाई । फरियाको आँचलले त्यसको निधार र मुखभरि आएको पसिना पुछिदिई- "छोरी, ता अब ठूली भइस् । अझै अङ्कलसित केटाकेटीजस्तै लुटुपुटु गर्दा अरूले के भन्छन् ?" त्यो फेरि खितितिती हाँसी- "हामी बाबुछोरीको बीचमा बोल्ने को ? ... म त मुद्दा ठोक्छु ।" मलाई हाँसो उठ्यो ।

म मल्लिकाको रूखमुनि फर्केर आइसकेको थिएँ । कल्पिता र वीणा पनि त्यहाँ मुसुमुसु हाँस्तै आइपुगे । मल्लिकाको एउटा हाँगोमा मेरो दृष्टि पुगेको थिएन । त्यहाँ एउटा ऐँजेरू उमि्रएको रहेछ । कल्पिताको दृष्टि त्यहाँ पुग्यो । कराई - "अङ्कल, अङ्कल रूखमाथि रूख उम्रियो ! मैले भनेँ - "होइन बेटा, त्यो ऐँजेरू हो । त्यो परजीवी हुन्छ । आँपको रूखको छातीमा उम्रेर त्यसैको रस सोसी झ्याङ्गन्छ । माटोमा यसको जरै हुँदैन ।"

"ए, यस्तो अर्काको रस सोस्ने, माटामा जरा नहुने ऐँजेरूलाई त लुछेर फाल्नुपर्छ ।" भनी र मेरो अनुमतिको प्रतीक्षा गर्दै नगरी त्यसले उफ्रिईउफ्रिई त्यस परजीवी वनस्पतिलाई लुछेर फालिदिई ।

यता घरैपिच्छे मधेसवादीहरू च्याउझैँ उम्रिन थाले । मधेसको हावामा एउटा विष बैरियो-साम्प्रदायिकताको विष । विषको मात्रा बढेर मर्ने-मार्ने क्रम बढ्यो । पहाडेको घरमा ढुङ्गा बर्सिन थाले । पसलहरू लुटिए । रातिराति फोनमा धम्की दिन थालियो । भर्खर अस्तिको कुरा हो- कल्पिताका पिता र मेरा सहोदरसदृश मित्र प्रभु ढुङ्गेल अकस्मात् आइपुगे । उनी असाधारणरूपमा अत्तालिएका थिए । कोठामा आएर सोफामाथि नबसी भुँइमा ओछ्याइएको सतरञ्जामाथि लम्पसार भई पल्टिए । पसिनाले कमिज ल्याफल्याफ्ती भिजेको थियो । अझै स्याँस्याँ गर्दै थिए । प्रभुको यो अवस्था देखि वीणा पनि आत्तिई । गिलासमा चिसो पानी लिएर आई र ख्वाउन थाली । प्रभु जब अलिक आश्वस्त भए, उनका आँखाबाट आँसु र्झन थाले । बडो बल गरी बोले - "यार, मैले एउटा डरलाग्दो सपना देखेँ ।...मलाई मधेसवादी आन्दोलनकारीहरूले घेरे । मेरी श्रीमती दुर्गाको टाउको लठ्ठी लिएर फोडे । ... उसको रगतको फोहोरा छुट्दै गर्‍यो । म र कल्पिता भाग्यौँ । ... एउटाले कल्पितालाई पछार्‍यो र ..." यसपछि उनी केही बोल्न सकेनन् । फेरि हिक्का छाडी रून थाले । केहीबेरपछि फेरि बल गरी बोल्न थाले - "तपाईंलाई हामीले साथीसँगै दाजुको पनि दर्जा दिएका छौँ । ... जब यी मधेसीहरूले हामीलाई लखट्दै थिए, हामी जेनतेन तपाईंको शरणमा पुग्यौँ । तपाईं ढोकामा उभिएर रमिता हेर्दै हुनुहुन्थ्यो । हामीलाई देखेर तपाईंले ढोका त खोलिदिनुभयो, तर जब आततायीहरूको हूलले तपाईंलाई कड्केर सोध्यो -"ए, यहाँ कुनै पहाडे लुक्न आएको छ ?" तपाईं मायावी राक्षसझैँ मुसुमुसु हाँस्नुभयो र भन्नुभयो -"लैजाऊ, मैले तिम्रा सिकार सुरक्षासाथ राखेको छु ।" अनि तपाईंले म, दुर्गा र कल्पितालाई ती दानवहरूको जिम्मा लगाइदिनुभयो । तिनले दुर्गा र कल्पितालाई... ।" तिनी फेरि कङ्काल- शब्द गरेर रून थालेका थिए । -"बखतमा... दाजु... तपाईंले.... पनि... मलाई...पहाडे नै.....देख्नुभयो ।" मैले धेरै सम्झाएँ -"सपना भनेको त सपना हो । हामी त पुस्तौँदेखिसँगै दुःखसुख भोगेका हौँ ।.... सपनाको कुरालाई लिएर यसरी भक्कानो छाडी रूनुपर्छ ?" .... तर उनको रूवाई थामिएन । ....

प्रभु ढुङ्गेल पेसाले शिक्षक हुन् । उच्चतर माध्यमिक विद्यालय (१०+२) मा पढाउँछन् । कक्षामा भीमनिधि तिवारीको नाटक 'शिलान्यास' -को प्रसङ्ग चल्यो । उनले लिगलिग राज्यको चलन बताए -"राजा हुन चाहनेहरू चेपे खोलाको दोभानमा जम्मा हुन्थे र बेतोडसित कुद्थे । सबैलाई उछिनेर कोटमा पुग्नेलाई राजा घोषित गरिन्थ्यो ।" एउटा ज्याद्रो जुरूक्क उठ्यो -"सर, त्यस दौडमा मधेसी थियो ? होइन भने पहाडेहरू जबर्दस्ती हाम्रा मालिक बने, होइन ! बिचरा प्रभु अकमक्क परे -"भाइ, यसमा पहाडे-मधेसीको कुरा कताबाट आयो ? ... छनोट त लिगलिगका राजाको हुन्थ्यो, अनि उनीहरूले नै भाग लिन्थे ।" बोल्न त बोलिरहेका थिए, तर कसैले टाउकोमा जोरले ट्वाङ्ग हिर्काइदिएझैँ दिमाग फनफन्ती घुम्न थालेको थियो । यस सानो कुराले कक्षामा ठूलो बहसको रूप लियो । प्रभुमाथि व्यङ्ग्य-वाणको अनवरत् र चतुर्दिक बर्षा हुन थाल्यो । उनको मुटु छियाछिया भयो । दुई शब्द बज्राश्त्रझैं आएर उनकै दिमागमा ठक्कर खान्थे र प्रत्येक तन्तुलाई क्षत-विक्षत पार्थे -पहाडे... मधेसी... पहाडे... पहाडे... पहाडे... पहाडे... । आफ्नो कान थुनी प्रभु कक्षाबाट निस्किए । कक्षाले दिग्विजयको उत्तेजनामा भयानक अट्टहास गर्‍यो -"भाग्यो, पहाडे भाग्यो !!

आज बिहान मेरो यार प्रभु फेरि आइपुगे । मैले बस्ने र चिया खाएर जाने आग्रह गरेँ । उनले मेरो र वीणाको हात एकैचोटी समाते -"म दाजु र भाउजूलाई लिन आएको ।... बाहिर रिक्सा उभिएको छ, जाऔँ ।" उनी हामीलाई घिसार्दै कहाँ लिएर जाँदै छन् भनेको त बसस्टप पो ल्याइपुर्‍याए छन् ।

सामुन्ने विशालकाय ट्रक उभिएको थियो -हर्दै बकासुरजस्तो लाग्ने । ड्राइभरनजिकको सिटमा दुर्गा र कल्पिता बसेका थिए । छानोमा पलङ, कुर्सी, बाल्टी आदि लादिएका थिए । प्रभुले हामीलाई ट्रक नजिक लगे । कल्पिता मलाई देख्नासाथ ट्रकबाट लगभग हाम्फालेर तल झरी । प्रभुले भने -"दाजु, हामी सदाका लागि जाँदैछौँ । कल्पिताले भेट नगरी जान मानिनन् ।...."

कल्पिता मेरो छेउमा आइपुगेकी थिई । मलाई अँगालो हाली । भुँडीमा बक्सिङ हान्दै बोली -"अङ्कल, एकदिन मैले हजुरको बारीको आँपको रूखमा उम्रिएको ऐँजेरू लुछेर फालिदिएकी थिएँ । ... हामी पनि मधेसको रूखमा ऐँजेरू नै रहेछौँ क्यारे ! ... हामी हाम्रो माटोको खोजीमा जाँदैछौँ ।... नबिर्सनुहोला । ..." त्यो बुरूक्क उफ्रेर ट्रकमा बसी । दुर्गा माटोको मुर्ति बनेकी थिइन् । प्रभु अज्ञात यात्रामा हिँडेका जस्ता देखिन्थे । सबै टाँस्सिएर बसेका थिए । ट्रकको सिसाबाट बाहिर तीनवटा कोमल, सेता हात परपरसम्म हल्लिरहे । मेरो कानमा कल्पिताका शब्द गुञ्जिरहेका थिए । म भन्न चाहन्थेँ -"तिमी ऐँजेरू होइनौँ कल्पिता । हामी सबै एउटै माटोका दूबो हौँ । हामीलाई कसैले उखेल्न सक्तैन" तर त्यहाँ सुन्ने मानिस कोही थिएन ।

॰[साभार: मधुपर्क]

Segments: 

Comments

Online Sahitya is an open digital library of Nepali Literature | Criticism, Essay, Ghazal, Haiku, Memoir, Personality, Muktak, News, Play, Poem, Preface, Song, Story, Translation & more

Partners

psychotherapy in kathmandu nepal elearning nepal Media For Freedom