Loading

आवाज मोबाइलको / किशोर पहाडी

महानगरको मध्यभागमा रहेको एउटा सानो हल ।

हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- "नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका" ।

सुरेखाजी बोल्दै हुनुहुन्थ्यो- "...अब देश गणतन्त्रात्मक भइसकेपछि रङ्गकर्मीहरूले पनि आफूलाई सोहीअनुहरूप प्रस्तुत गर्नसक्नुपर्छ ।..."

बीचैमा अचानक कसैको मोबाइलको घण्टी बज्यो । श्रीधरभाइको रहेछ । खल्ती समाउँदै, कुपि्रँदै उनी हलबाहिर निस्के ।

सुरेखाजीले ३-४ मिनेटमै बोल्न सिध्याएपछि अनि विगतका राजावादी सौभाग्य थापाले रङ्गकर्मभन्दा पनि बडो गर्वकासाथ आफू लोकतन्त्र प्रेमी भएको व्याख्यान छाँट्न थाले । त्यो व्याख्यानको सुरुमै कसैको मोबाइल फेरि बज्यो । मोबाइल हेर्दै, कुपि्रँदै रघु श्रेष्ठ पनि हलबाहिर गए ।

अब बोल्ने पालो श्रीधरभाइको थियो । ज्यादै छोटकरीमा आफ्नो विचार राख्दै थिए कि एकैचोटि दुई जनाको मोबाइल बज्न थाल्यो । ध्रुव र विजयको रहेछ । दुवैले आ-आफ्नो मोबाइल अफ गरे ।

अन्तमा वरिष्ठ रङ्गकर्मी तथा त्यस समारोहका सभापति सहदेव शर्मालाई "नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका" विषयमा मन्तव्यका साथ सभा विसर्जन गर्ने अभिभारा दिइयो । शर्मादाइ उठ्नुभयो र माइकको अगाडि पुगी भन्नुभयो - "म अरू केही पनि भन्दिनँ । ...यत्ति भन्छु- अबदेखि यस्तो समारोहमा सबैले आ-आफ्नो मोबाइलको स्विच अफ गरिराखौँ ।... ... ..."

उहाँले यत्ति मात्र के भन्नुभएको थियो, वातावरणमा फेरि मोबाइलको घण्टी गुञ्ज्यो । अहिलेको यो आवाज अन्तबाट नभई शर्मादाइकै खल्तीबाट आइरहेको रहेछ । अकमकिँदै सभापति सहदेव शर्माले आफ्नो खल्तीबाट फोन निकाल्नुभयो र माइक अगाडि उभिएको उभियै फोनमा भन्नुभयो- "हैलो... ! ...म तिमीलाई एकछिनपछि फोन गरुँला ।

[साभार: मधुपर्क मासिक]

Segments: 

Comments