Loading

आउँदैछन् हिसाब माग्न / जयन्त शर्मा

तिमीले दिएको आश्वासनको तिउन-आशाको ढिडोसँग
विश्वासघातको अचार नमज्जाले मिसायौ है?
तिमीले देखाएका नयाँ सपनाहरू साँच्न नपाउँदै
उही पुरानो नमीठो थप्पडले फेरि बिउँझायौ है?
अत्याचारको शिकार, अन्यायको मूक गवाही
बोली त तिमीले पहिले नै खोसिसकेका रहेछौं !

तर भुस्याहा कुकुरहरूको मिथ्या भुकाइमा
तर्सिन छाड्यो त्यो कमजोर रामबहादुर
दबाउन सक्दैन आवाजहरूलाई कसैले
बोल्ने बोलेरै छाड्छ अब अन्धकार विरूद्ध
भीरबाट खस्ने गोरुको लङ्गडो ढिपीमा
राम राम भनिन्छ अब काँध थाप्ने छैनन् कोही !

लाखौ आमाहरूको आँसुले सजाएको त्यो मन्चमा
तिम्रो देशभक्तिको कालो चिठ्ठा मन्चन हुदैछ
कुरिति र कुशासनको पटाक्षेप हुदैछ
गाँस-वास-कपास दिन्छु, नयाँ आश दिन्छु
झुक्किने छैन घरिघरि त्यो सोझो मानबहादुर
तिम्रो यस्तो फुस्रो कुरा गराइमा ।

न्याय, समानता, हक र परिवर्तन
कुनै किराना पसलमा पाइने खाध वस्तु हो?
पाइने भएको भएपनि तिमीले कहाँ दिन्थ्यौ र?
खोक्रो आडम्बर, ढोङ्गी सहानुभुति त हो तिमीले दिने !
कुरा ठूला-ठूला तर सस्तो मानसिकता
उदघोष नयाँपनको तर सोच बर्बर
अब छोप्न सक्दैनौ तिमीले आफ्नो नपुङ्गसकता !

भाइ मारेर ज्वाँई पोस्ने तिम्रो फोहोरी चाललाई
अब कसैले सफा भन्ने छैनन्
तिमीले फेरेको काचुलीलाई परिवर्तनको नाम त दियौ
तर उही पुराना रुग्ण मानसिकता भने छाड्न सकेनौ
तिमीले पनि त कति गाडि, घरहरू फेर्यौ
कङ्गालीको करङ्गमाथि घुम्ने कुर्सीको स्वाद पनि फेर्यौ !
गरीब श्यामबहादुरको खुन पसिनामा बाँच्ने तिमी
कति लासहरूमाथि महङ्गो व्हिस्की पनि फोड्यौ ।

तिम्रो स्वार्थ पूरा गर्न हजारौ सपनाहरूले बलि चढाए
तिम्रो विश्वासको भूमरीमा लाखौ इच्छाहरुले आत्महत्या गरे
तिमीले पनि तिनीहरूको मृत्युलाई बलिदानको नाम दिएर महान बनायौ
श्रद्धाञ्जलि स्वरुप तिनीहरूको लासमाथि सहिदको ‘लेबल’ पनि टाँस्यौ
महानताको गाथा गायौ अनि डकार्यौ उनीहरूको खुनको सर्बत
तिनीहरू सहिद भएर अमर, तिमी सहिद बनाएर अमर !

तर अब जुर्मुराउँदैछन्
तिनै राम, श्याम र मानबहादुरहरू
बुहारीको पुछिएको सिन्दुर, मुछिएको मर्म
छोरीको लुटिएको अस्मिता, फुटेको कर्म
खोसिएको आफ्नो घरबार, मान्छे हुनुको धर्म
सबैको हिसाब माग्न उठ्दैछन्, जुर्मुराएरै आउँदैछन् ।

Segments: 

Comments