Loading

आफ्ना सृजनाभित्र छेत्रलाल / रमेश खनाल

नेपाल आर्ट काउन्सिल बबरमहलमा पोखरेली वरिष्ठ कलाकार छेत्रलाल कायस्थका "भ्वाइस अफ कलर" नामक एकल प्रर्दशनी फागुन २७ गतेदेखि चैत १ गतेसम्म (२०६७) आयोजना भएको थियो । यस प्रदर्शनीमा उहाँका ३२ थान साना-ठूला, चालिसदेखि एक लाख मूल्य पर्ने चित्रहरू प्रदर्शित गरिएका थिए।

कलाकार छेत्रलाल कायस्थ एक शालिन, भद्र, सद्भाव, मिलनसार व्यक्ति हुनुहुन्छ । उहाँको स्वभाव अनुसार नै चित्रहरू बनाइएका छन् । उहाँका चित्रहरूले मैत्री, करूणा, सद्भावलाई प्रतिनिधित्व गरेको पाइन्छ । सालिन रङ्गको छनौटमा उहाँ रमाउनु हुन्छ । अक्सर नीलो, रातो, पहेलो, कलेजो, खैरो, हरियो रङ्गहरूलाई मूल विषयगत माध्यम बनाएर उहाँले चित्रहरू सिर्जना गर्नु भएको छ । उहाँका चित्रहरूभित्र घोत्लिँदै जाँदा मन भित्रको उग्रवेग, मनभित्रको ज्वारभाटा र मनभित्रको रोमानी भावना छछल्किएको अनुभव गर्न सकिन्छ । क्यानभास भरि नै रङ्गहरू यताबाट उता र उताबाट यता पाटा पाटा बनाएर दौडिएका देखिन्छन् । रङ्गहरूको दौड, उहाँको आफ्नै अवयवभित्रको अनुभव हो । नितान्त व्यक्तिगत भएर चित्रहरू उहाँले हामीहरूमाझ पस्किनु भएको छ । रङ्गहरूको संयोजन उहाँ कै आफ्नै विचारमा अनुबन्धित छ । रङ्गहरूको प्रवाह उहाँकै सृजनात्मक भाषा हो र मनको भावको दौडाई नै रङ्गहरूको आवाज हो । उहाँ यहि आवाजभित्र रम्न खोज्नु हुन्छ ।

पोखराको माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमाल, फेवाताल, वेगनास ताल लगायत पोखरेली गाउँ बस्तीमा रमाउँदै हुर्किनु भएका कलाकार छेत्रलाल कायस्थ इ.स. १९४६-११-१७ मा पोखराको तेर्सापट्टमिा जन्मिनु भएको हो । उहाँलाई सानै देखि चित्रकला कोर्न रहर थियो । पछि वरिष्ठ कलाकार दुर्गा बराल, बुद्धि गुरूङ्ग लगायत अन्य केही कलाकारहरूको प्रेरणा र प्रोत्साहनबाट उहाँलाई कलाको दुनियाँमा विचरण गर्न मद्दत पुगेको हो । इ.स. १९९१ देखि उहाँको एकल चित्रकला यात्रा अभियान प्रारम्भ भएको हो । उहाँका प्रत्येक चित्रकला प्रर्दशनीहरूले आफ्नै विशिष्टता कायम राखेको पाइन्छ । भारतको चेन्नाईमा सम्पन्न सातौँ एकल कला प्रदर्शनीमा राखिएका चित्रहरूमा उहाँले अभिव्यक्त गर्नु भएका सुन्तले रङ्गको संयोजनलाई धेरैले मन पराएर अझसम्म पनि स्मरण गरिरहेका छन् ।

"रङ्गहरूलाई मनको बहको रूपमा अभिव्यक्त गर्न पाउँदा आफूलाई आनन्द लाग्छ । रङ्ग त मेरो सुख दुःखको अभिव्यक्ति माध्यम हो । भावना पोखिँदा, रङ्गहरू आफैँआफ्नो स्थान खोजेर, बस्न सक्दा रहेछन । रङ्गहरूलाई म धेरै नियन्त्रण पनि गर्दिन । रङ्ग त आफैँ बग्नु पर्दछ । मेरो मन छोएर । तर रङ्गलाई बुझ्न, जान्न अझ धेरै समय अर्चिनु पर्ने रहेछ भन्ने मलाई क्रमशः बोध भइरहेको छ ।" मुस्कुराउँदै भन्नु हुन्छ कलाकार छत्रलाल कायस्थ । अमूर्तकलाको जटिल यात्रालाई पनि छत्रलाल कायस्थका ब्रसले सहज ढङ्गबाट बहन सिकेको अनुभव गर्न सकिन्छ ।
रेखाहरूलाई, रङ्गको पुरक ठान्दै उहाँ एक ठाउँमा लेख्नुहुन्छ "मैले नकोरेका रेखाहरूमा तिमी आएछौ, मनभरी मुटुभरी केही बोकी, के भनौँ कोर्दा कोर्दै, रहेका आंकडाहरू, थाहा छैन कतिपटक काटीमेटी सच्याएको हुँला । आफ आफैँ कोरिँदैं जाने यी रङ्गका रेखाहरू समेत खुट्टा त के शरीर विना पनि मुटुको स्पन्दनमा बाँचिरहने, किम्बदन्तीको कथा हो की- एउटा कलाकार !
कला सुन्दर मनहरूको अभिव्यक्ति हो । स्वच्छ दृष्टि, स्वच्छ भावना सिर्जनाको साधना हुन् । जीवनलाई कलात्मक सिर्जनाले सिंगारौ । पंक्षीहरूको चिरविर चिरविर आवाज, सङ्गीतमय धुन, फूलहरूको सुन्दरतालाई मानिसले बुझेका हुँदैनन तर मुग्ध हुन्छन् । वास्तवमा कला पनि यस्तैमा एक हो भनि रमाउने कलाकार छेत्रलाल कायस्थले राष्ट्रिय प्रतिभा पुरस्कार, ललित कला पुरस्कार (पोखरा), रङ्गलाल वाङ्गदेल पुरस्कार, क्षेत्रीय नाफा कला पुरस्कार, जेष्ठ नागरिक सम्मान, श्री ५ वीरेन्द्र स्मृति पार्क निर्माण प्रशंसापत्र, दीर्घ सेवा पदक, पृथ्वीनारायण क्याम्पसबाट सम्मानपत्र आदि पाउनु भएको छ ।

उहाँ सृजनशील कलाकार समूहले संस्थापक सदस्य, बुद्ध विहार एवं पोखरेली युवा साँस्कृतिक परिवारको आजिवन सदस्य, नाफा एवं नेपाल कलाकार समाजको साधारणसभा सदस्य समेत रहनु भएको छ ।

Segments: 
Author: 

Comments