Loading

सात सालको क्रान्ति र नेपाली साहित्य

- डा. दयाराम श्रेष्ठ

हामी आज ६१ औं राष्ट्रिय प्रजातन्त्र दिवस हार्दिक उल्लासका साथ मनाउँदैछौं । यस दिवसले हामीलाई २००७ सालको सफल जनक्रान्तिको ताजा सम्झना गराउँदछ । वास्तवमा त्यो क्रान्ति अत्याचारी जहानियाँ राणातन्त्रका विरुद्धको ऐतिहासिक कदम भएकाले त्यसले अन्ततः नेपाली जनतालाई विजयी बनाएरै छाड्यो । देशमा प्रजातन्त्रको स्थापना भयो र स्वतन्त्रताका चारै दिशामा ढोकाहरू खुला भए । देशको हरेक क्षेत्रमा त्यस क्रान्तिको प्रभाव विस्तारै-विस्तारै पर्न थाले । नेपाली साहित्य पनि त्यसबाट अप्रभावित भएर रहन सकेन । त्यसले नेपाली साहित्यलाई नयाँ मोडतर्फ उन्मुख गरायो । त्यो मोड सम्पूर्ण नेपाली कवि-लेखकहरूको आकाङक्षा अनुकुल हुनाका साथै जनचाहनाको पनि द्योतक थियो । वर्षौंसम्म उकुसमुकुसिंदो वातावरणमा परेर कुनै प्रेरणा र प्रोत्साहन पाउन नसकेका त्यस बेलाका कवि-लेखकले अब खुला प्रजातान्त्रिक वातावरणमा आफूमा निहित, आधुनिक चेतनालाई निर्विघ्न अभिव्यक्ति दिंदै आम पाठकहरूको भित्री चाहना पूरा गर्न थाले । यसको परिणाम स्वरूप नेपाली साहित्यले लोकजीवनमा लोकपि्रयता कमाउन सफल भयो । पाठक सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि हुन थाल्यो । यसको गर्दा क्रान्तिपश्चात नेपाली साहित्य भित्री तथा बाहिरी दुवै रूपमा झन-झन बलियो हुँदै जान थाल्यो । नयाँ प्रजातान्त्रिक वातावरणमा स्वतन्त्रताको पूर्ण उपभोग गर्ने सौभाग्य पाएका नेपाली कवि-लेखकले नयाँ-नयाँ विषय खोज गरी पाठकलाई आत्मसन्तुष्टि दिन हर प्रकारको प्रयास गर्न थाले । यसरी लेखक र पाठकबीचको सम्बन्ध-सेतु बलियो हुँदै जानाले नेपाली साहित्यले फस्टाउने र मौलाउने मौका पायो । नेपाली साहित्यको यही फराकिलो र दरिलो रूपको मूल्याङ्कन गरेर कतिपय नेपाली साहित्यका इतिहासकारहरूले आधुनिक नोपाली साहित्यको परम्परालाई क्रमशः 'क्रान्ति-पूर्व युग' क्रान्ति-उत्तर युग भनेर नामकरण गरेका छन् । २००७ सालको क्रान्तिपछि मात्र नेपाली साहित्यमा आधुनिक काल प्रारम्भ भएको मान्ने इतिहासकारहरू पनि नभएका होइनन् ।

सात सालको क्रान्तिपूर्व नेपाली कवि लेखकहरूको मनस्थितिमा सन्त्रास छाएको थियो । तिनीहरू कुनै पनि समयमा राणाशासकहरूको कोपभाजन हुन सक्तथे । कवि-लेखकहरू केही चेतनशील र प्रबुद्ध पनि भएको देखेर ती शासकहरूले गिद्धे दृष्टि लगाएर तिनिहरूलाई चारैतिरबाट चियोचर्चा गरिरहेको हुन्थे । यही कारणले गर्दा शासकहरूले कवि-लेखकहरूलाई नियन्त्रणमा राख्न र बोल्नेको जिब्रो थुत्न, सं.१९७० मा 'गोरखा भाषा प्रकाशिनी समिति' खोले । यस समितिद्वारा ती शासकहरूले सेन्सरसिपको कैंची चलाएर कवि-लेखकहरूलाई जनजागृति वा चेतना र राजनीतिक सुधारका कुराहरु गर्न पूरै रोक लगाएका थिए । केही पनि नलेखी चूपचाप बस्न नसक्ने कवि-लेखकहरू यस कंैची चलाइलाई स्वीकार गर्न विवश थिए । यस्तो भए तापनि समय समयमा आफूभित्र गुम्सिएर बसेको विद्रोहको आगोलाई बाहिर ओकल्ने प्रयास गर्दथे । कवि-लेखकहरूको विद्रोहको कलम भाँचिदिने दुष्प्रयास शासक वर्गले समय-समयमा गर्दै गए । 'मोती मण्डली' तथा 'जोगमण्डली' माथि शासक वर्गको कुदृष्टि परेकै थियो । सं.१९७७ को 'मकैपर्व' तथा सं १९९६ को 'लाइब्रेरी पर्व' यस कुराका ज्वलन्त प्रमाण हुन् । सं १९७४ 'सूक्तिसिन्धु' माथि पनि प्रतिबन्ध लगाएर शासक वर्गले कवि-लेखकहरूलाई आतङ्कित तुल्याएका थिए । यसरी क्रान्तिपूर्व नेपाली लेखकहरू त्रसित, कुण्ठित र शोष्ति पनि भएकाले स्तन्त्र अभिव्यक्तिबाट पूर्णतः वञ्चित थिए । राणाशासकहरूले त्यसबेला नेपाली कवि-लेखकको आचरणलाई नै शङ्काका दृष्टिले हेर्ने गर्दथे । तिनीहरूका सिर्जनालाई गर्भमै तुहाइदिने दृष्टता पनि गर्दथे । तर जतिसुकै धृष्टता गर्दै गए पनि ती कवि-लेखकहरूीले कालअनुसार आ-आˆना नैतिक सीमाभित्र बसेर साहित्य-सेवामा आफूलाई समर्पित गर्दै विभिन्न सकारात्मक क्रियाकलापमा आफूलाई सरिक गर्दै लगे । संस्थागत रूपमा नेपाली साहित्यको श्रीवृद्धि गर्ने काममा मात्र होइन, साहित्यिक पत्रकारिता तथा मुद्रण-प्रकाशनका कामद्वारा आफ्नो सिर्जनशीलतालाई अगाडि बढाउँदै लैजाने काममा ती कवि-लेखकले शासकवर्गसँग लड्दै आˆनो भाषा-सेेवाको व्रतलाई पूरा गर्दै गए ।

सात सालको क्रान्तिपश्चात् नै नेपाली कवि-लेखकहरूले निर्विघ्नतापूर्वक अघि बढ्ने मौका पाए । वाक् स्वतन्त्रतासँग सँगै पत्रकारिताको विकासका निमित्त अनुकूल वातावरणको सिर्जना हुन थाल्यो । राणाकालदेखि नै 'गोरखापत्र' को प्रकाशन हुँदै आएको त थियो, तर त्यो पत्रिका तिनै शासक वर्गको पोल्टोभित्र बन्दी थियो । सं. १९९१ देखि निजी स्तरमा प्रकाशित हुन थालेको 'शारदा' पत्रिकामाथि ती शासकवर्गको वक्रदृष्टि परेकै थियो । यसमा प्रकाशित हुने लेखरचनाको सेन्सर हुने गर्दथ्यो । यसरी स्वतन्त्र पत्रकारिताको नामोनिसान नै केही नभएको राणा शासनकालमा कवि लेखकहरूको जिब्रो थुतिएको थियो । २००७ सालपछिको प्रजातन्त्र प्राप्तिको कालमा अघिका ती सारा बन्धन बाधा र व्यवधानका पर्खालहरू भत्किए । गोष्ठी तथा संघ संस्थाहरूको स्थापना परस्परको अन्र्तक्रिया, प्रकाशन आदि यावत् क्षेत्रमा उत्साहर उमङ्ग देखिन थाल्यो । निराशा, कुण्ठा र त्रासका ठाउँमा उत्साह, प्रेरणा र साहसले ठाउँ लिन थाले । कवि लेखकलाई अब आफूभित्रको असन्तुष्टि र विद्रोहको भावना व्यक्त गर्न प्रतीकको सहायता लिनु परेन । सोझै व्यङ्ग्य प्रहार गरेर समाजमा परिवर्तन ल्याउने तथा स्वतन्त्र रूपले मनका भाव र विचारलाई बिना रोकटोक वा त्रास व्यक्त गर्न सक्ने आत्मबल कवि लेखकहरूमा स्वतः बढ्दै जान थाल्यो । यसरी २००७ सालको क्रान्तिको परिणामस्वरूप नेपाली साहित्यमा विषयगत व्यापकता आउनुका साथै आधुनिकताले विस्तार हुने अवसर पाउन थाल्यो । कवि लेखकहरूका दृष्टिमा तीक्ष्णता बढ्दै जानु, प्रबुद्ध पाठक वर्गको जमात तयार हुँदै जानु, इतिहासमा नयाँ नयाँ धारहरू जोडिँदै जानु र सिर्जनाहरूमा उत्कृष्टताको मात्रा बढ्दै जानु क्रान्ति उत्तरकालीन नेपाली साहित्यका उपलब्धि बनेको हामी पाउँछौँ ।
(Source: Gorkhapatra Daily)

Segments: 

Comments